←
Post
छोरीहरूको दशैँ
दशैँको उमङ्ग र रौनकता,
किशोरावस्थाको निश्छल चञ्चलता।
जमराको टुसासँगै अंकुराउने खुसी,
साथीसॅगको जमघट र रमाइलो क्षण,
दक्षिणा पाउनुअघि नै बुनिएका मिठा हिसाब,
अनेकौँ सपना र स्वैरकल्पनाहरू...
तर,
टीकाको दिन बिहानै,
‘पर' सरेपछि...
एकाएक लागेको हो खुसीमा - एउटा पूर्णविराम!
आफ्नै घरभित्र ठडिए अदृश्य पर्खालहरू,
छताछुल्ल भए खुशिका पलहरू,
मात्र आँखीझ्यालबाट नियालिरहेँ—
पूजाकोठाको उज्यालो,
सबैका निधारमा टल्किएको रातो टीका र जमरा।
दिदीबहिनीका हातका राता नोट,
मामाघर जान खुट्टा उचालेका
दाइ र भाइको असीम फूर्ति!
छोरीहरूको दशैँ त
केवल अधुरो कल्पना मात्र रहेछ,
छोरीहरूको खुसी क्षणभंगुर रहेछ।
दाइ, भाइ, बुबा र पुरुष वर्ग—
सबैका लागि हर्षोल्लासका साथ आउने दशैँ,
कहिल्यै नरोकिने देवीको आराधना!
अनि,
पाइला-पाइलामा रोकिन-छेकिन बाध्य—
घरकी अर्की जीवित देवी ,
ए दुर्गा भवानी!
के तिमी कुनै दशैँमा पनि महिनावारी भइनौ र?
कि हामीले जस्तै अपहेलित हुनुपर्ने डरले
आफ्नो प्राकृतिक सत्य सार्वजनिक गरिनौ?
परदेशिएको छोराको खाली निधार सम्झेर
अश्रुधारा बगाउने आमाबुबाले,
टीकाको दिन घरमै भएकी छोरीको खाली निधार
र उसको मुहारको नीरस मलिनता
कहिले देख्लान् ?
अष्टमीको बोकोको रातो रगत
मन्दिरमा चढ्यो
संगालियो रातो अक्षता , राता फूल,राता नोट,
झण्डाको रङ्ग ,सिन्दूरको रङ्ग
पढाइयो शुभरङ्ग “रातो रङ्ग”
घोकाइयो— 'रातो त हिम्मत र विजयको रङ्ग हो!' वीरताको प्रतीक हो ।
तर किन अशुद्ध भयो ,
सृष्टिको मूलधार बनेर मेरो शरीरबाट बग्ने यही रातो रगत?
यो दशैँमा,
आफ्नै घरमा 'अपरिचित' झैं,
एक्लो महसुस गर्नुभन्दा,
रङ्गीन निधारहरूको भीडमा रित्तो हुनुभन्दा—
म त दूर परदेशमै निधार खाली राख्न मञ्जुर छु बा!
जहाँ मेरो प्राकृतिक अस्तित्व नै 'पाप' मानिन्छ,
त्यहाँ चाडको उमङ्गले मलाई छाउन सक्दैन।
अर्को दशैँमा मलाई अक्षता र दक्षिणा चाहिँदैन,
मात्र सृष्टिको मूलधार मेरो रातो रगतलाई
'अशुद्ध' नभनिदिने एउटा नयाँ सोचाइ ल्याइदिनुस्!
वडा दशैं२०८३ को हार्दिक शुभकामना !!
- सविना रेग्मी
Oct 20, 2026, 3:13 PM
0 replies
Replies
- No replies yet. Be the first to respond.
Sign in to leave a reply.