←
Post
के लेख्नु मैले पर्यो - माधव प्रसाद घिमिरे
शार्दूलविक्रीडितधर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिए
मेरै प्रीति सुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिए
छाया आज पर्यो, छिप्यो छवि कहाँ, के देख्नु मैले पर्यो
आँसूमा अब चिप्लियो कलम यो, के लेख्नु मैले पर्यो !
मेरीलाइ म देख्छु झल्झल, त्यही टाँसिन्न यो पत्रमा
मेरीको मनको किनार रँगिलो, गाँसिन्न यो पत्रमा
यो बायाँ मुटु चस्कँदो छ कसरी, जान्दैन कोही पनि
छाया एक मभित्र रुन्छ कसरी, सुन्दैन कोही पनि
मेरा अक्षर लेखिदे वनचरी ! वैशाखको पातमा
बोल् हे गोलसिमल् ! चुँडेर दिल यो एकान्तको रातमा
लैजा बादल ! दूर देश, दिलको आँसू, कहाँ छन् उनी
आउन्नन् हकि, काव्य सुन्न उनकै फर्केर कैल्यै पनि
मेरो साथ बसेर हाँसिरहने रानी ! खरानी बन्यौ
आमा शान्ति र कान्तिकी, सकलकी साजा कहानी बन्यौ
आफैँ ईश्वरले रचेर कसरी त्यो चित्र च्यातीदियो
के थालूँ अब लेख्न जीवन जहाँदेखिन् इतिश्री भयो
सम्झी ल्याउँछु– आज छैन रिस क्यै, गाली गरेहूँ किन
जाने नै रहिछन् नि ! त्यो दिन त्यसो मैले गरेहूँ किन
आफ्नैले त कसूर गर्छ, अहिले देखेर पो के भयो
के सम्झेर गइन् उनी, गुणकथा लेखेर पो के भयो
आनन्दी दुनियाँ छ एक, मनका मेरा पखेटामनि
छन् दुःखी परिवार किन्तु घरमा चीसा परेलामनि
केही छैन उपाय, खालि कमलो छाती लिएको कवि
टाढा ताक्छ, नगीच गुम्छ, कविता मुर्दा छ, छैनन् छवि
यौटा मानिस जो गयो–हृदयको सर्वस्व मेरो गयो
यौटा पुस्तक लेखियो–हृदयको रुन्चे कुना देखियो
साँचो जीवन त्यो गुमाइ, कसरी झूटो कथा यो भनूँ
वैरीलाइ समेत लेख्न नपरोस् यस्तो अरु के भनूँ !
क्वै भन्लान्– शिरको सिँदूरसहितै गौरी गइन् स्वर्गमा
क्वै भन्लान्– यस काव्यमा अमर छन् गौरी यहीँ मत्र्यमा
बाँचेको क्षण सत्य हो, अरु कुरा के हो कसो हो अब
ती मेरी घरमा थिइन्, हृदयको छन् सम्झनामा अब
कोट्टयाऊँ कति घाउ यो कलमले अड्कन्छ अड्कन्छ है
सम्झी ती दिन, ती कुरा, हृदयमा खड्कन्छ खड्कन्छ है
खोली पुस्तक आँसुको लहर यो हेरेर बत्तीमनि
सम्झीद्यौ सबले कुनै दिन यहाँ गौरी थिइन् रे ! भनी
Sep 22, 2026, 4:33 PM
2 replies
Replies
RegmiSat@satyamregmiNice
Satyam Regmi@satyamNice
Sign in to leave a reply.